स्वास्थ्य

किन हुन्छ अल्जाइमर? के श्वासको व्यायाममा यसको निदान छ?

तपाईंलाई यो सुन्दा अनौठो लाग्न सक्छ, तर वैज्ञानिकहरू भन्छन् कि बिस्तारै र नियन्त्रित रूपमा सास लिनुको आफ्नै फाइदा छ, यसले अल्जाइमर रोगबाट पनि बचाउँछ।

अल्जाइमर एक यस्तो रोग हो, जसमा मानिसले आफ्नो स्मरणशक्ति गुमाउन थाल्छ। यद्यपि, अल्जाइमरको कुनै पनि निश्चित कारण छैन। यसको एउटा महत्त्वपूर्ण कारण भनेको बिरामीमा पाइने प्लेक्स भनिने एमिलाइड बिटा प्रोटिन हो।

चिकित्सकहरूका अनुसार यो रोगका कारण बिरामीले राम्रोसँग बोल्न सक्दैन किनकि उसलाई यो याद हुँदैन ऊ कुन भाषाामा बोल्छ। तर, यसको लक्षण बिस्तारै बिस्तारै सुरू हुन्छ।

रोहनकी आमा (नाम परिर्वतन) लाई पनि यस्तै भएको छ ।

रोहन भन्छन्, ‘मेरी आमा अक्सर राति निद्रामा उठ्न थाल्नुभयो। उहाँ केही बेर हिँड्नुहुन्थ्यो र फेरि सुत्नुहुन्थ्यो। सुरूमा हामीलाई सबै सामान्य लाग्यो तर एक दिन अचानक अनौठो भयो।’

उनले भने, ‘त्यस दिन मेरी आमा राति उठ्नुभयो र मलाई आफ्नो कोठामा कोही मानिस सुतिरहेको बताउनुभयो । ऊ को हो? पुलिसलाई बोलाऊ र उसलाई घरबाट निकाल भन्नुभयो। जबकि उहाँको छेउमा मेरो बुवा सुत्नुभएको थियो। हामीलाई त्यो दिन महसुस भयो कि केही गलत छ।’

रोहनका परिवारले चिकित्सकको सल्लाह लिए र उनकी आमालाई प्रारम्भिक चरणको अल्जाइमर रोग लागेको थाहा भयो।

के भन्छन् चिकित्सक?
ऋषिकेशस्थित एम्सका न्यूरोलोजिस्ट डा. अरविन्द माधव यस रोगबारे भन्छन्, ‘मस्तिष्कमा एउटा यस्तो भाग हुन्छ जसले स्मरणशक्ति भण्डार गर्छ, तर जब अल्जाइमर्स हुन थाल्छ, यो भागको न्यूरोन्स नष्ट हुन थाल्छ र व्यक्तिले कुराहरू बिर्सन थाल्छ।’

‘कसैमा यो धेरै छिटो हुन्छ त कसैमा बिस्तारै बिस्तारै हुन्छ। यस्तो अवस्थामा मानिसले साना-साना कुराहरू पनि बिर्सन थाल्छ, जस्तै कि सामान राख्न बिर्सनु आदि। डाक्टरहरूले यसलाई छिटो बुढ्यौली पनि भन्छन्।’

उनी भन्छन्, ‘अल्जाइमरको कुनै उपचार छैन। यसका लागि दिइने औषधिले रोगलाई सुस्त मात्र बनाउँछ र बिरामीले अर्को चरणसम्म जान पाउँछ।’

‘तर कहिलेकाहीँ बिरामीहरूमा यी औषधिहरूका साइड इफेक्टहरू देखा पर्छन्, जस्तैः भ्रम वा असामान्य अन्यौल।’

श्वासप्रश्वास प्रक्रियाको प्रभाव
पछिल्ला दशकहरूमा वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि यदि तपाईं बिस्तारै सास फेर्नुहुन्छ भने यो स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो एसियाका धेरै देशहरूमा लामो समयदेखि अभ्यास हुँदै आएको छ।

भारतमा यो अनुलोमविलोम जस्तै प्राणायामको रूपमा योग अभ्यासको एक प्राचीन हिस्सा हो।

यद्यपि, अनुसन्धानमा विभिन्न सास फेर्ने विधिहरूको तुलना गरिएको छैन, त्यसैले उनीहरूले कुन प्रकारको श्वासप्रश्वासले तपाईंलाई सबैभन्दा बढी फाइदा पुर्‍याउँछ भन्ने बताउँदैनन्।

तर, उनीहरू एउटा तरिका भने जरूर सुझाउँछन्। उनीहरू भन्छन्, ‘बिस्तारै बिस्तारै सास फेर्ने क्रममा तपाईंको छाती फुल्छ, तपाईं पाँचसम्म गन्ती गर्नुहोस् र पाँचसम्म गन्ने क्रममा सास बिस्तारै छोड्नुहोस्। १० सेकेन्डको यो प्रक्रियामा तपाईंले तुरून्तै आराम पाउनुहुन्छ।’

‘अनुसन्धानका अनुसार यदि तपाईंले दिनमा २० मिनेट र हप्तामा कम्तीमा पाँच दिन यसो गर्नुभयो भने आराम, शान्ति र तनावबाट मुक्ति पाउनुहुनेछ। हालैको एक अनुसन्धानअनुसार यसले बिरामीको प्रतिरोधकको रूपमा पनि काम गर्छ, यहाँसम्म कि अल्जाइमरमा पनि प्रभावकारी हुन्छ।’

यस प्रक्रियालाई अपनाउँदा उच्च रक्तचाप, तनाव र पुरानो दुखाइ जस्ता रोगहरूमा सुधार भएको अनुसन्धानले देखाएको छ।

अनुसन्धानमा के देखियो?
एक नयाँ अनुसन्धानमा शोधकर्ताहरूले अल्जमाइर हुनुमा सबैभन्दा ठूलो जोखिम ‘बायोमार्कर’ को रक्त प्लाज्माको नाप लिए।

यस शोधकी लेखिका दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा मनोविज्ञान र बायोमेडिकल इन्जिनियरिङकी प्राध्यापक मारा माथर हुन्।

उनका अनुसार १०८ जनामाथि यो अनुसन्धान गरिएको थियो, तिनीहरूमध्ये आधालाई यस्तो ठाउँमा जान भनियो जहाँ उनीहरूलाई शान्ति मिलोस्, जस्तैः उनीहरूलाई संगीत सुन्न वा आँखा बन्द गर्न वा ध्यान गर्न भनियो।

यसको उद्देश्य उनीहरूको मुटुको धड्कनको गति कम गर्नु र त्यसलाई नियमित गर्नु थियो।

यस्तै अर्को समूहका मानिसहरूलाई कम्प्युटर स्क्रिनको अगाडि बसाइयो।

उनीहरूको अगाडि स्क्रिनमा पाँच सेकेन्डको अन्तरालमा फूल देखा पर्थ्यो। उनीहरूले स्क्रिनमा फूल देखा पर्दा पाँच सेकेन्डका लागि श्वास लिनु र स्क्रिनबाट गायब भएपछि श्वास छोड्नुपर्ने थियो। यसरी गहिरो र ढिलो सास लिँदा उनीहरूको मुटुको धड्कन बढेको देखियो।

प्राध्यापक मारा माथरले पाँच हप्तापछि यी दुवै समूहका मानिसको रगतको नमुना जाँच गर्दा नतिजा अचम्मित पार्ने खालको आएको बताइन्।

उनले अल्जाइमरको कुनै पनि कारण थाहा हुन नसकेको बताइन् तर यो रोग लाग्नुको एउटा मुख्य कारण एमिलोइड बिटा प्रोटिनको समूह वा प्लेक्स रहेको भनियो।

जब यी मस्तिष्कमा फ्लेक्सको रूपमा बन्छन्, तब प्रोटिनहरू विषाक्त बन्छन् र यसले यसको सामान्य कार्यलाई असर गर्छ।

प्रोफेसर मारा माथर भन्छिन् कि यी प्रोटिन विशेष गरी तब खतरनाक हुन्छन्, जब मस्तिष्क न्यूरोन्सभित्र एकसाथ टाँसिन्छन्। जसका कारण कोशिकाहरूमा नोक्सान पुग्छ। यसले मस्तिष्कको सामान्य कार्यलाई असर गर्छ। जसका कारण मानिसले बिस्तारै बिस्तारै बिर्सन थाल्छ। यो मस्तिष्क मृत्युको कारण पनि बन्न सक्छ।

मारा र उनको टोलीका अनुसार स्वस्थ जवान व्यक्तिमा एमिलोइड बिटाको मात्रा जति कम हुन्छ, अल्जाइमर रोग लाग्ने जोखिम पनि त्यति नै कम हुन्छ।

गहिरो निद्राको फाइदा
अनुसन्धानकर्ताहरू निश्चित छैनन् वास्तवमा यस्तो किन हुन्छ। तर, एउटा परिकल्पना यो छ कि ढिलो, स्थिर सास फेर्नाले गहिरो निद्राका केही फाइदाहरू प्राप्त हुन सक्छन्। अनुसन्धानले पत्ता लगाएको छ कि यसले मस्तिष्क र स्नायु प्रणालीबाट न्यूरोटक्सिक फोहर छिटो सफा गर्न सक्छ। जसको निर्माणले अल्जाइमरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

सबै प्रकारका शारीरिक र मानसिक व्यायामले मुटुको चाललाई असर गर्छ। अनुसन्धानबाट मुटुको धड्कनमा बदलाव स्नायु प्रणालीको कार्य मापनका लागि एक राम्रो विधि रहेको संकेत मिलेको छ। त्यसैले डिप्रेसन वा पुरानो तनावदेखि भाइरल संक्रमणसम्म विभिन्न स्वास्थ्य अवस्थाको एक सूचक हो।

श्वास क्रिया कति फाइदाजनक?
मारा माथरका अनुसार शरीर-मस्तिष्कको सही संयन्त्रका बावजुद ढिलो सास फेर्ने नियमित अभ्यासले अधिकांश मानिसहरूलाई फाइदा पुर्‍याउँछ।

‘अहिले हामीलाई थाहा छैन सासको कति व्यायाम उपयुक्त छ, तर यो सम्भवतः हरेक दिन गर्नु हुँदैन। मेरो अनुमान छ कि हप्तामा ४ वा ५ दिन २० मिनेट गर्नाले फाइदा हुन्छ।’

तर, के श्वासको व्यायाम लामो समयसम्म प्रभावकारी छ? जान्नका लागि ठूलो संख्यामा अल्जाइमर प्रभावित मानिसहरूमा यसलाई दोहोर्‍याउन बाँकी छ।

धेरै वैज्ञानिकहरूले चिकित्सा उपचारको तुलनामा सास फेर्ने यो विधिको फाइदामा शंका गरेका छन्।

के सासको व्यायाम उपयोगी छ?
एम्स ऋषिकेशका न्यूरोलोजिस्ट डा. अरविन्द माधव अल्जाइमरको उपचारको यो नयाँ सिद्धान्तलाई सामान्य स्तरमा हेर्छन्।

उनका अनुसार माइग्रेनजस्ता समस्यालाई श्वासप्रश्वासको व्यायामबाट निको पार्न सकिन्छ तर अल्जाइमरमा यसले प्रत्यक्ष रूपमा सहयोग गर्दैन।

तर उनी ध्यान, व्यायाम र राम्रो जीवनशैलीले सम्पूर्ण शरीरमा सकारात्मक प्रभाव पार्ने र हरेक रोग लाग्नबाट बचाउन सक्ने बताउँछन्।

उनी भन्छन्, ‘बिर्सने हरेक समस्याको कारण अल्जाइमर वा डिमेन्सिया नै हो भन्ने हुँदैन। अक्सर स्मरणशक्ति कम हुनुको कारण डिप्रेसन, स्ट्रोक, माइग्रेन, भिटामिनको कमी, थाइराइड, रक्तचाप आदिको समस्या हो। अल्जाइमरको पूर्ण रूपमा निको हुने उपचार सम्भव नभए पनि यससँग मिल्दाजुल्दा रोगको उपचार भने विल्कुल सम्भव छ। त्यसैले कसैलाई स्मरणशक्तिको समस्या छ भने त्यसलाई डिमेन्सिया सम्झेर धेरै डराउनुपर्ने वा निराश हुनुपर्ने जरूरी छैन। बरू एक न्यूरोफिजिसियनलाई भेटेर सल्लाह लिन बढी जरूरी छ।’

-बीबीसी हिन्दीबाट अनुदित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *