प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब पूर्ण रूपमा अनलाइनबाट

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको सुरूवात गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाकाे सुरूवात गरेका हुन्।

सो सेवा सुरू भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणीकरण गर्न सकिने भएको छ। अब त्यसै प्रयोजनका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए।

सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारी रूपमा प्रदान गर्ने योजनामा कोसेढुङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिए।

यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उनले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने उल्लेख गरे। फरक प्रसङ्गमा उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रहरूसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे।

वर्तमान गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनतको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *