इमरान खान पक्राउपछि पञ्जाबका कैयौं जिल्लामा सबै प्रकारका जमघट र सभा गर्न प्रतिबन्ध

पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा १४४ अनुसार विरोधका कार्यक्रम वा अन्य अनावश्यक जमघटसमेतलाई प्रतिबन्ध लगाइएको हो।

स्थानीय अधिकारीले भनेका छन्, ‘धारा १४४ अन्तर्गत सात दिनका लागि सबै प्रकारका जमघट, सार्वजनिक सभा, प्रदर्शन, धर्ना र र्‍यालीमा प्रतिबन्ध लगाइएको छ।’

आदेशमा भनिएको छ, ‘आदेश उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गरिनेछ।’

इमरान खानलाई पक्राउ गर्ने अदालतको फैसलापछि प्रदर्शन हुन सक्ने आशङ्काका बीच प्रहरीले शनिबार इस्लामाबाद र रावलपिण्डीमा उच्च सुरक्षा सावधानी अपनाएको एआरवाई न्यूजले जनाएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना प्रकरणमा ‘भ्रष्ट आचरण’ का लागि दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएलगत्तै उनलाई जमान पार्कस्थित निवासबाट पक्राउ गरिएको छ। प्रहरी प्रवक्ताका अनुसार सङ्घीय प्रहरीले इस्लामाबादमा उच्च सतर्कता अपनाएको घोषणा गरेको छ। प्रहरीले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘सबै अधिकारीलाई आ-आफ्नो क्षेत्रमा बस्न र सङ्घीय राजधानीका सबै क्षेत्रमा चेकजाँच बढाउन निर्देशन दिइएको छ।’

रावलपिण्डीका प्रहरी अधिकारीहरूलाई पनि पीटीआई समर्थकहरूको सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न विशेष निर्देशनसहित उच्च सतर्कतामा राखिएको छ। एआरवाई न्यूजका अनुसार प्रहरी अधिकारीहरूले मातहतका अधिकारीहरूलाई स्थितिमाथि निगरानी राख्न भनेका छन्।

खानलाई दोषी ठहर गरी पक्राउ गरेलगत्तै शनिबार पीटीआईले पाकिस्तानमा कानून र संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो। सर्वोच्च अदालतले तोशाखाना प्रकरणको विचारणीयताविरूद्ध दायर गरेको पुनरवलोकन याचिकाको सुनुवाइ गर्न पनि अनुरोध गरेको छ।

पाकिस्तानको एक जिल्ला तथा फौजदारी अदालतले इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय र पाँच वर्षका लागि राजनीतिबाट अयोग्य घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पीटीआईले आफ्नो सङ्गठन र राजनीतिक कार्ययोजनाका लागि इमरान खानको निर्देशनअनुसार कारबाही सुरू गरेको र फौजदारी अदालतको फैसलालाई सिङ्गो राष्ट्रले अस्वीकार गरेको जनाएको छ।

इमरान खानको लाहोर जमान पार्कस्थित निवासबाहिर वकिलसहित पीटीआईका समर्थकले उनकाे गिरफ्तारीको विरोध गरेका छन्। खैबर पख्तुनख्वाको बन्नूमा पनि पीटीआई समर्थकहरूले खानको पक्षमा प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *