जसले सर्वाेच्चका न्यायाधीशका सुरक्षा गार्ड सईकाे पिस्ताेल चाेरे

प्रहरीले सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) रहेका प्रहरी नायब निरीक्षक (सई) प्रभाकर खड्काले प्रयोग गर्ने पिस्तोल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङ छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार उनीहरूलाई पक्राउ गरी उक्त पिस्तोल, त्यसकाे १ थान म्याग्जिन र ७ राउण्ड गोलीसमेत बरामद गरिएको छ।

गत असार ३० गते सई खड्काले प्रयाेग गर्ने टाइप फिफ्टी फोर चाइनिज पिस्तोल चाेरी भएकाे थियाे। उक्त पिस्तोल शुक्रबार सिन्धुलीको गोलन्जाेर गाउँपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, नारायणटार शिवचोकस्थित केदारनाथ ढकालको घरमा डेरा गरी बस्ने २४ वर्षीय मेघबहादुरको कोठामा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियाे।

याे पनि : सर्वोच्चका न्यायाधीशका सुरक्षा गार्ड सईकै पिस्तोल चोरी!

सुरूमा मेघबहादुरको कोठाबाटै पिस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामीलाई पनि पक्राउ गरिएकाे एसपी ढुंगेलले बताए।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीस्थित सुवेदीगाउँ घर भएका सई खड्काको दरबन्दी प्रहरी प्रधान कार्यालय, सुरक्षा सेवा निर्देशनालय हो। उनी न्यायाधीश सुवेदीको निजी सरक्षा गार्ड हुन्।

प्रहरीका अनुसार असार ३० गते सई खड्काकाे घरको कोठामा पिस्तोल राखिएको झोलासहित झ्यालबाट अंकुशे लगाएर पिस्ताेल चोरी गरेकाे पक्राउ परेकाहरूले बयानमा बताएका छन्। राति १० बजेतिर सई खड्का सुतेका बेला चाेरी भएकाे हाे।

त्यसलगत्तै खड्काले पिस्तोल चोरी भएको भनी प्रहरी वृत्त, बौद्धमा जाहेरी दिएका थिए। सोही आधारमा खोजतलासका क्रममा पिस्तोल बरामद गरी उनीहरूलाई पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक ढुंगेलले बताए।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *