ललिता निवास प्रकरण : पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरूद्ध पक्राउ पुर्जी

काठमाडौं जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री बिरुद्ध आइतबार पक्राउ पूर्जी जारी गरेको छ ।

ललिता निवास प्रकरणको दोहोराएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निवेदनका आधारमा अदालतले तत्कालिन भौतिक योजनामन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भुमिसुधार मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ बिरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

ब्यूरोका एकजना वरिष्ठ अधिकारीले यसको पुष्टि गरेको छन् । उनका अनुसार आइतबार पक्राउपूर्जी जारी भएपछि सार्वजनिक जीवनमा रहेको गच्छदार, जोशी र श्रेष्ठलाई आफै ब्यूरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गरिने छ । अर्का आरोपी साहभने जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर कारागारमा रहेका छन् ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्यूरोले बिस्तृत अनुसन्धान गरिरहेको हो ।

ब्यूरोले घटनाका २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै आइतबार नै सर्वोच्चले मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन बाटो खुलागरेपछि सुरुवातमा यी चार बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि नेता गच्छदार बिरुद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *