शिक्षा विधेयकविरूद्ध निजी विद्यालयले घोषणा गरे आन्दोलन

संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले आन्दोलनको घोषणा गरेका छन्।

प्याब्सन, हिसान र नेसनल प्याब्सनले, मंगलाबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले निजी विद्यालयका मागलाई नसमेटेको भन्दै आन्दोलनको कार्यक्रमहरू घोषणा गरेका हुन्।

विधेयकले निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकूल असर गर्ने भन्दै समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण संवर्द्धनकाे सुनिश्चित्ता हुने लिखित प्रतिबद्धता सरकारको तर्फबाट आउनुपर्ने उनीहरूकाे माग छ।

अन्यथा देशैभरि सञ्चालित विद्यालयहरू बन्द गर्ने, सवारी साधनसहित सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलनमार्फत भोलि २४ गते पालिका र जिल्ला प्रशासन कार्यालय, सम्बन्धित कार्यसमिति कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया गर्ने, २७ गते आ-आफ्ना संगठनमा समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

त्यस्तै उनीहरूले भदौ १ गते अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधानहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम तय गरेका छन्।

कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरूत्साहित गर्दै मास्ने अभिप्रायका साथ विधेयक ल्याइएको निजी विद्यालय सञ्चालकहरूको आरोप छ।

आफ्ना सुझावको बेवास्ता गर्दै मनोमानी ढंगले शिक्षा मन्त्रालयले विधेयक मन्त्री परिषदमा पेस गर्नु अत्यन्तै दुखद् भएको उनीहरूको भनाइ छ।

आफ्नो जिम्मेवारी बिर्सिएर एकलौटी रूपमा मस्यौदा निर्माण गर्नु तथा सोको विषयमा सरोकारवालासँग कुनै छलफल नै नगरी/नगराई संसदमा प्रस्तुत गर्ने सरकारको व्यवहार अलोकतान्त्रिक भएको उनीहरूको ठहर छ।

यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी उनीहरूले दिएका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर