सामुदायिक भवन र बर्थिङ सेन्टर निर्माणमा भ्रष्टाचार, करिब ७६ लाख बिगो माग गर्दै १० जनाविरूद्ध मुद्दा

बारामा सामुदायिक भवन र बर्थिङ सेन्टर निर्माणको काममा करिब ७६ लाख रूपैयाँ रकम हिनामिना गरेको आरोपमा १० जनाविरूद्ध भ्रष्टाचार मुुद्दा दर्ता भएको छ।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरूद्ध मुद्दा दर्ता भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। कुल ७५ लाख ८६ हजार ७८४ रूपैयाँ बिगाे कायम गरी मुद्दा दर्ता भएकाे हाे।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सिम्रौनगढ नगरपालिकाले मधेस प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन गरेका योजनाहरूमा उनीहरूले रकम हिनामिना गरेको देखिएको हो।

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सबइन्जिनियर उपेन्द्र कुशवाहाविरूद्ध ३७ लाख ९३ हजार ३९२ रूपैयाँ हिनामिना गरेको आरोप छ।

सिम्रौनगढ नगरपालिकाका वडा नं. ३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नं. ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माणस्थलमा भएको परिमाणको झुटा बिल भरपाई बनाई रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ।

उनीहरूविरूद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजायको समेत मागदाबी लिइएको छ।

यस्तै सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरूद्ध पनि मुद्दा दर्ता भएको हो।

उनीहरूले नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमानबमोजिम गर्नुपर्ने कुनै कामहरू नगरी कार्य सम्पन्न भएको भनी निर्माण स्थलमा नगरे नगराएको परिमाणको झुटा बिल भरपाई बनाएर रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

सामुदायिक भवन निर्माण कार्यका लागि १९ लाख ७ हजार ५३२ रूपैयाँ र बर्थिङ सेन्टर निर्माण कार्यका १८ लाख ८५ हजार ८६० रूपैयाँको बिल नगरपालिकाको कार्यालयमा पेस गरी भुक्तानीसमेत लिएर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ।

सामुदायिक भवन निर्माणमा उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव, कोषाध्यक्ष कविता देवीविरूद्ध १९ लाख ७ हजार ५३२ रूपैयाँ बिगो मागदाबी गरिएको छ।

यस्तै बर्थिङ सेन्टर निर्माणमा उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरूद्ध १८ लाख ८५ हजार ८६० रूपैयाँ बिगो माग गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी लिइएको छ।

*शीर्षक सच्याइएकाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *