चीनसँग रसुवा नाकाबाट ‘क्रस बोर्डर ट्रान्समिटर लाइन’ बनाउने प्रधानमन्त्री दाहालको खुलासा

संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणमा चीन सरकारसँग नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजनामा हस्ताक्षर हुने बताएका छन् । त्यसका साथै भौतिक पूर्वाधार र विद्युतका क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको उनले खुलासा गरे ।

‘हामीले जसरी भारतसँग क्रसबोर्डर ट्रान्समिटर  लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ । अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोर्डर ट्रान्समिटर लाइन बनाउने कुरामा सहमति हुनेछ, ‘ प्रधानमन्त्री दाहालले भने, ‘चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।’

प्रधानमन्त्री दाहालले विभिन्न अडकलबाजीका बीच आफू छिट्टै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने बताए । उनले भने त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ती नै हाम्रो ध्यान केन्द्रित हुनेछ । अहिले ठूलाठूला परियोजनामध्ये बूढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारेमा पनि सरकारले ठोस निर्णय गर्ने उनले बताए ।

एउटै परियोजनाबाट १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकियो भने ग्याम चेन्जर हुने प्रधानमन्त्री दाहालको विश्वास थियो । उनले भने, ‘नेपालको अर्थतन्त्रमा ठूलो क्रान्ति ल्याउने परियोजना हुन सक्छ ।’

बूढीगण्डकीको प्रक्रिया सुरु गर्न कार्यालयको उद्घाटन र अब छिट्टै शिलान्यास गर्ने र त्यसलाई पनि अघि बढाउने योजना रहेको प्रधानमन्त्री दाहालले बताए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई मुख्य नारा बनाएर काम कारबाही अघि बढाएको उनले बताए । सुशासन मात्रै नभएर जनताका प्रत्यक्ष सरोकारका विषयलाई सहजीकरण गर्न पनि सरकारका तर्फबाट लगातार प्रयास भइरहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।’

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले प्राकृतिक खेती या उत्पादन वृद्धि गर्ने सबै प्रविधिको सदुपयोग र सहकार्य गर्नेबारेमा केही समझदारी बनेको बताए । उनले भने, ‘मैले नेपालकोतर्फबाट एउट टोली छिट्टै भारत पठाउँदैछु । कृषि उत्पादन वृद्धि गर्नका निम्ति र सहकार्यका निम्ति ।’ नेपालमा मल कारखाना निर्माण गर्नेबारे सैद्धान्तिक सहमति गरेको उनले जानकारी दिए ।

अहिले भारत र बङ्गलादेशसँग जलविद्युतका सम्बन्धमा सहमति भएको प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘छिट्टै काठमाडौँमा विशेष समारोहसहित घोषणा गर्दैछौँ ।’ आफू इटाली जाँदा रोममा बङ्गलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उनले बताए । ।

चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा सम्बोधनगर्दै प्रधानमन्त्री दाहालले यी विषयको खुलासा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर