भारतको सितामढीबाट घुम्न आएका अभिषेक राजको सर्लाहीमा विभत्स हत्या

टाउको र शरीर भेटिएको शवको पहिचान खुल्यो

सर्लाहीमा टाउको र शरीरको भाग अलग अलग भेटिएको अज्ञात शवको पहिचान भएको छ । प्रहरीले् खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो ।

सर्लाही प्रहरीका अनुसार मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज हुन्। उनको परिवारले शुक्रवार सर्लाही प्रहरी समक्ष शवको सनाखत गरेको हो । प्रहरीले मृतक अभिषेकको टाउको काटिएको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला पारेको हो ।

टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो । बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन ।

राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए । एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताए । ‘खोलामा टाउको र जङ्गलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेशेवर व्यक्तिहरूबाट हत्या भएको जस्तो देखिन्छ,’ एसपी सुवेदीले भने, ‘हामी घटनाको सम्बन्धमा सूक्ष्म ढङ्गबाट अनुसन्धानमा जुटेको छौँ,’। उनका अनुसार मृतकको कम्मरदेखि तलको भागमा कुनै कपडा थिएन ।

युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारले सनाखत गरेपछि टाउको शुक्रवार दिउँसो पोस्टमार्टमका लागि काठमाडौँ पठाइसकिएको छ । परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सितामढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उनका साथीहरू अहिले सम्पर्कविहीन छन् । उनीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर