धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा छापा मारेको छ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको रकम अनियमिततालगायत आरोपमा उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो नगरपालिकामा छापा मारेको हो।

वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै शनिबार अख्तियारको बर्दिबास कार्यालयमा उजुरी परेको थियो।

स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको उजुरीका आधारमा अख्तियारले छापा मारेको हो।

वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमका लागि छुट्याइएको चार लाख रूपैयाँ बजेट कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नै नगरी रकम अनियमितता गरेको उजुरी परेको हो।

त्यस्तै वडा नं. ९ मा स्ट्रिट लाइट जडानका लागि विनियोजित ८ लाख रूपैयाँमध्ये ७ लाख ९२ हजार ९२१ रूपैयाँ कमसल काम गरी भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सीपमूलक तालिमका लागि विनियोजित ४ लाख रूपैयाँमध्ये ३ लाख ९८ हजार ३२५ रूपैयाँ कार्यक्रम नै नगरी भुक्तानी लिएको, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाख रूपैयाँको बिल भरपाई पेस गरी १ लाख ७८ हजार रूपैयाँ भुक्तानी लिएको उजुरीमा उल्लेख छ।

त्यस्तै वडा नं. ९ मा दुई इन्चको कृषि पम्पिङ सेटका लागि छुट्याइएको ५ लाख रूपैयाँमध्ये ४ लाख ८५ हजार ३२ रूपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूको सिकाइ उपलब्धिका लागि रामजानकी आधारभूत विद्यालय, कटरैत तथा आधारभूत विद्यालय, अन्दुपट्टीका लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी ९ लाख ९६ हजार ६६० रूपैयाँ भुक्तानी लिएको उजुरीमा आरोप लगाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *