कागबेनीका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले तत्काल सहयोग पठाउने

गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । गएराति बाढीले कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् ।

बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेशिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

बैठकले जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आएअनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने निर्णय गरेको छ । त्यसैगरी बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षणलगायत कार्यहरूमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयरूबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न निर्देशन गरेको छ ।

मौसम प्रतिकूल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्र्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाइने जनाइएको छ । लगातार वर्षात हुँदा बाढी, पहिरोबाट पुगेको क्षतिका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिए ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत पठाएको विपद् व्यवस्थापन कोषको रकम खर्च गरेर विपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरी अघि बढ्न उनले निर्देशन दिए । थप सहयोग आवश्यक परेमा प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकायसहित जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिए ।

बैठकमा मुख्यमन्त्री पाण्डेले उद्धार, उपचार, राहत र पुनस्र्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै सरकारी, गैरसरकारी सङ्घ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *