भारतीय दूतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएको छ। राजदूतावासमा मंगलबार विभिन्न कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाइएको हो।
यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरू गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्सा हो।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।
यस्तै भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपति मुर्मूले सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरेकी थिइन्।
राष्ट्रपति मुर्मले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन्। साथै उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन्।
उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी-२० को अध्यक्षताबारे उल्लेख गरिन्।
दूतावासले भारतीय सशस्त्र बलमा कार्यरत रहँदा वीरगति प्राप्त गरेका गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रूपैयाँ वितरण गरी सम्मान गर्‍याे।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर