सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा संलग्नताको आशंकमा प्रहरीले मंगलबार थप तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका तीन चिनियाँमध्ये दुई जना पुरूष र एक जना महिला छन्।

प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार चिनियाँ नागरिकहरू गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) पक्राउ परेका हुन्।  उनीहरूका साथबाट नगद ३१ लाख रूपैयाँसमेत बरामद गरिएको सीआईबीले जनाएको छ।

प्रकरणमा उनीहरूअघि तीन जना चिनियाँ पक्राउ परेका थिए। तर, दुई जनालाई उनीहरूको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै सीआईबीले छाडेको थियो।

यससँगै यस प्रकरणमा सीआईबीको हिरासतमा रहने चिनियाँको संख्या मात्र फेरि तीन पुग्ने भएको छ। चिनियाँ, भारतीय र नेपालीसहित यो प्रकरणमा पक्राउ पर्नेको जम्मा संख्या २३ पुगेको छ।

३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन सिनामंगलबाट बरामद भएको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुमा भित्र्याइएको सुन ब्रेक शुबाट निकालेर मंगलबार गाल्ने काम सकिएको छ। यसअघि सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुबाट छुट्याएर सुन मात्रै जोख्दा ६० केजी ७८९ ग्राम तौल आएको थियो।

सुनको शुद्ध तौल यकिन, गुणस्तर र प्रकार जाँचका लागि सुन गालिएको हो। गालिसकेपछिको सुनको तौल भने सार्वजनिक हुन बाँकी छ।

प्रकरणकाे प्रारम्भिक अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेकामा उसले बीचमा थप अनुसन्धानका लागि पक्राउ अभियुक्त र अनुसन्धान फाइल सीआईबीलाई बुझाएकाे थियाे। सीआईबीले यस प्रकरणमा हाल संगठित अपराध र राजस्व छलीकाे कसुरमा अनुसन्धान गरिरहेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर