जमिन भासिँदै गएपछि गोरखाको खानीगाउँ पहिरोको जोखिममा, घरभित्रको जमिनसमेत चिराचिरा

उत्तरी गोरखाको धार्चे गाउँपालिका-७, खानीगाउँ पहिरोको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङका अनुसार बस्तीमाथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ । ‘वि. सं. २०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो,’ उपाध्यक्ष गुरूङले भनिन्, ‘केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ ।’

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताइन् ।

खानीगाउँ। तस्बिर : रासस

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ,’ उपाध्यक्ष गुरूङले भनिन्, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’

पहिरोको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओढ्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेको उनको भनाइ छ ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *