फेसबुक ह्याक गरेर ठगी गर्ने गिरोह पक्राउ

प्रहरीले विभिन्न व्यक्तिका फेसबुक अकाउन्ट ह्याक गरेर रकम ठगी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१७, रामनगर घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरूङ तथा कास्कीको पोखरा महानगरपालिका-१० घर भएकी सुब्बु भनिने शुभेच्छा गुरूङ छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई बुधबार दिउँसो काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार विभिन्न व्यक्तिहरूले आफ्नो फेसबुक अकाउण्ट ह्याक गरी आफ्नो फ्रेण्ड लिस्टमा भएका व्यक्तिसँग पैसा मागेको भनी परेको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता खुलेपछि पक्राउ गरिएको हो।

उनीहरू नयाँ बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसमा कोठा भाडामा लिएर बसेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले विभिन्न व्यक्तिका फेसबुक अकाउण्ट ह्याक गरी उनीहरूका साथीहरूलाई म्यासेन्जरमा म्यासेज गरेर ई–सेवा, खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेको खुलेको छ।

पक्राउ परेकाहरूमध्ये कसैले फेसबुक अकाउण्ट ह्याक गर्ने, कसैले रकम माग गर्ने, कसैले वालेटमा आएको रकम झिक्ने त कसैले सिमकार्ड उपलब्ध गराउने गरेका थिए।

उनीहरूले विभिन्न व्यक्तिका ३० वटा फेसबुक अकाउण्ट ह्याक गरेको, १२ वटा जीमेल आईडी प्रयोग गरेको, विभिन्न बहानामा ओटीपी कोड माग्ने गरेको खुलेको छ।

यसरी ठगीमा परेको भन्दै हालसम्म २२ जना पीडितहरूले प्रहरीमा उजुरी गरेका छन्।

हालसम्म प्राप्त विवरणअनुसार उनीहरूले १४ लाख ५८ हजार रूपैयाँको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई ठगी तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर