संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको छ। बालुटवाटारमा शुक्रबार बिहान उनीहरूबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री दाहालले सदन खुलाउन सहमति गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले यसका लागि प्रमुख विपक्षी दलका नेतासँग थप पहल गर्ने बताउँदै अवरोध खुलाउन लागिपर्न सभमुख घिमिरेलाई आग्रहसमेत गरे।

‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ प्रधानमन्त्री दाहालले भने।

भेटमा सभामुख घिमिरेले सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षलाई गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरेका थिए।

‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ,’ सभामुख घिमिरेले भने, ‘दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्।’

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले पटकपटक सदन अवरूद्ध गर्दै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *