यस्ता देखिए गत आर्थिक वर्ष मुलुकका आर्थिक सूचक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् ।

सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा सात दशमलव ७४ प्रतिशत पुगेको छ ।

अर्थात् गत वर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । त्यस्तै गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ । गत आवमा आयात १६ दशमलव एक र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा आयात २४ दशमलव ७ र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको थियो ।

गत आवको अन्त्यसम्ममा चालु खाता ७२ अर्ब १६ करोड रूपैयाँले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ दशमलव ६ प्रतिशतले कमी आई सात अर्ब ५४ करोड रूपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ९६ करोड रूपैयाँ कायम भएको छ । अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रूपैयाँ थियो ।

गत आवमा विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा २१ दशमलव दुई र अमेरिकी डलरमा १२ दशमलव एक प्रतिशतले बढेको छ । त्यस्तै, शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रूपैयाँले घाटामा थियो ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय ११ दशमलव चार प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२ दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब रूपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब रूपैयाँ छ ।

विसं २०७९ असार मसान्तमा २००९ दशमलव ५ को विन्दुमा रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७ दशमलव १ को विन्दुमा कायम भएको छ । गत आवको असार मसान्तसम्ममा कूल धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर