सुवास नेम्वाङ भन्छन्- संसद अवरोध संविधानसम्मत र नियमसंगत छैन

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसंगत नभएको बताएका छन्। संघीय संसदद्वारा आज काठमाडौंमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद अवरोध नियमसंगत नभएको उल्लेख गरे।

नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिक रूपमा गरिने हुनाले यसको पुनः पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो।’

साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर तस्करीको ६० किलाे ७१६ ग्राम सुन बरामद भएपछि त्यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसक्दा संघीय संसदका दुवै सदन अवरूद्ध हुँदै आएका छन्।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे। उनले भने, ‘सदन अवरूद्ध मलाई मन परेको छैन, अवरोध नगरौं, संवाद गरौं, संवादको विकल्प संवाद मात्रै हो। अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ।’

संसदको हालसम्मको कामकारबाहीको मूल्यांकन गर्दै थप प्रभावकारी तुल्याउन नागरिक समाजसहित व्यक्ति रहेको उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाउनुपर्ने आवश्यकतामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिए। संसदले दिने सूचना पूर्ण, चुस्त र आधिकारिक हुनपर्ने आवश्यकता औंल्याउँदै उनले लोकतन्त्रको ज्यानका रूपमा रहेको संसद र प्रजातन्त्रका पक्षमा सञ्चार जगतलाई सधैंभर खबरदारी गर्न सुझाव दिए।

उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद र आम नेपाली जनताको ऐनाका रूपमा रहेको धारणा व्यक्त गरिन्। उनले भनिन् ‘मुलुकको सञ्चार जगतले राष्ट्र र जनताको हितका पक्षमा सधैं चनाखो भएर कलम चलाउन आवश्यक छ।’

काठमाडौं उपत्यकाबाट प्रकाशन एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा रही संघीय संसदलाई मुख्य बिट बनाएर समाचार संकलन गर्दै आएका करिब ५० पत्रकार दुईदिने उक्त अन्तर्क्रियामा सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर