ललिता निवास प्रकरण

सीआईबीले घरमै पुगेर लियो माधव नेपाल र बाबुराम भट्टराईसँग बयान

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ।

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईसँग सीआईबीले आइतबार उनीहरूको निवासमै पुगेर बयान लिएको हो।

सीआईबीको टोलीले आइतबार साँझ नेपालको कोटेश्वर र भट्टराईको टोखास्थित निवास पुगेर उनीहरूसँग बयान लिएको हो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिइएको जानकारी दिए।

‘उहाँहरू (पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई) सँग बयान लिइएको हो। बयान कागज भइसकेको छ,’ एसपी अधिकारीले पर्दाफासलाई भने।

ललिता निवास प्रकरणमा सीआईबीले संगठित अपराध र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

यसमा नाम मुछिएका नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान प्रक्रिया टुंग्याउन लागिएको भन्दै आलोचना भएपछि सीआईबीले उनीहरूसँग पनि बयान लिएको हो।

स्रोतका अनुसार सीआईबीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

साउन २१ मा सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषदबाट भएका निर्णय प्रक्रियामा सहभागी प्रधानमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो।

गत सोमबार सत्ता गठबन्धनको बैठकमासर्वोच्चको आदेशमाथि शीर्ष नेताहरूले असन्तुष्टि जनाएका थिए। सत्तारूढ नेताहरूले न्यायिक सक्रियता देखाएको भन्दै प्रश्न उठाएपछि सीआईबी दबाबमा परेको थियो।

मन्त्रिपरिषदको २९ चैत २०६६, ३१ वैशाख २०६७ र २८ साउन २०६७ मा ललिता निवासको केही जग्गा व्यक्तिका नाममा ल्याउने निर्णय हुँदा प्रधानमन्त्री माधवकुमार नेपाल थिए।

तीन पटकसम्म मन्त्रिपरिषदको निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो।

यस्तै १८ असोज २०६९ को मन्त्रिपरिषद बैठकले गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लग्न दिने निर्णय गरेको थियो।

उक्त निर्णयमा तत्कालीन प्रधानमन्त्री भट्टराई र तत्कालीन मुख्यसचिव लीलामणि पौडेल जोडिएका थिए।

पौडेलले साउन २८ गते सीआईबीमै हाजिर भएर बयान दिइसकेका छन्। उनलाई सीआईबीले कागज गराएर छाडेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर