कूटनीति

मन्त्री ज्वाला र रूसी राजदूतबीच भेटवार्ता, मेट्रो रेलका बारेमा छलफल

रूसी संसदका अध्यक्ष नेपाल आउँदै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा नेपालस्थित रूसका राजदूतलगायतसँग छलफल गरेका छन्।

आज नेपालका लागि रूसी राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरूङमार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए।

रूसको मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ। रूसको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। भारतका विभिन्न ठाउँमा पनि रुसी मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ।

मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेल मार्गका विषयमा छलफल गरेका हुन्। केही समयमै रूसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै छन्।

उनको भ्रमणअघि मेट्रो रेल, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रूसी टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ।

छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेलको प्रस्ताव गरेका थिए। ‘मेट्रो, पूर्वपश्चिम रेल, सुरूङमार्गलगायतका विषयमा छलफल भयो,’ मन्त्रालयका सचिव केशवकुमार शर्माले भने।

जवाफमा रूसी राजदूतले मेट्रो रेल निर्माणका लागि रूसी रेल्वे कम्पनी तयार रहेको बताएका थिए। त्यसका लागि ठोस प्रस्तावसमेत माग गरिएको छ।

यस्तै पोखरा-रिडी सडकका विषयमा पनि चासो देखाएको बताइएको छ। रूसी पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए।

छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौं इन्जिनियरहरूले रूसबाट तालिम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *