शिक्षक छनोट प्रक्रियामा पेस कागजात फिर्ता गर्न विव्यस अध्यक्ष र प्रअले लिए घुस

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

शिक्षक छनोट प्रक्रियामा पेस गरेको सक्कल कागजात फिर्ता गर्न घुस लिएको आरोपमा विव्यस अध्यक्ष राजकुमार थापा र प्रअ बुद्धिविलास धितालविरूद्ध मुद्दा दर्ता भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई १६ हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानमा उनीहरूले शिक्षक छनोटमा अन्तर्वार्ताका लागि पेस गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्ने क्रममा १६ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले उनीहरूविरूद्ध घुस रकम बराबर बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र बिगोबमोजिम जरिवानाको मागदाबी लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *