साउनमा भेटिएन आन्तरिक राजस्वको लक्ष्य

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख रूपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख रूपैयाँ बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार रूपैयाँ बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार रूपैयाँ बराबर मात्रै सङ्कलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार रूपैयाँ बराबर भ्याट सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार रूपैयाँ बराबर मात्रै उठेको देखिएको हो ।

त्यस्तै अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार रूपैयाँ बराबर उठाउने लक्ष्य राखिएकोमा सात अर्ब ७० करोड ९५ लाख ८९ हजार रूपैयाँ बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ । पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात् २२ करोड २० लाख छ हजार रूपैयाँ र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजार रूपैयाँ बराबर उठेको छ ।

शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा २० करोड ४५ लाख एक हजार रूपैयाँ बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार रूपैयाँ बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत विन्दुले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले ३९ अर्ब ८६ करोड ३४ लाख रूपैयाँ बराबर आन्तरिक राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० का लागि सरकारले छ खर्ब २६ अर्ब ६१ करोड रूपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् चार खर्ब ७९ अर्ब ७९ करोड रूपैयाँ बराबर मात्रै सङ्कलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले छ खर्ब ७७ अर्ब ७३ करोड रूपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर