सुरक्षा

सशस्त्र प्रहरीमा १७ वर्षदेखिको ‘बढुवा जाम’ खुल्याे

सशस्त्र प्रहरी बल, नेपालले मंगलबार ५६ जनाको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र ८४ जनाको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि नाम सिफारिस गरेसँगै बढुवामा १७ वर्षदेखिको जामको समस्या अन्त्य भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि नै वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउने प्रयास गरिरहेका छन् ।  यससँगै सरूवा-बढुवालगायतमा व्यापक परिवर्तनसहित पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना कर्मचारीको एकैपटक बढुवा भएको छ ।

यसपटक ओ एण्ड एम नभएको भए डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो । महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नका लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो ।

संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो । सशस्त्र प्रहरीमा वर्षौंदेखि रहेको वृत्ति विकासकाे समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओ एण्ड एम) मार्फत केही दरबन्दी थप र केही पदहरू समायोजन भएका थिए ।

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरू एकैपटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ । हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शून्य भएको छ ।

मंगलबार एसपीमा बढुवा  सिफारिस हुने डीएसपी सि. सं. ३ र डीएसपीमा बढुवा  सिफारिस हुने इन्स्पेक्टर सि. सं. ७ का रहेका छन् ।

२०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपीमा सिफारिस भएका हुन् । यसैगरी २०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेका छन् भने आज बाँकी ८४ जना बढुवा सिफारिस भएका हुन् ।

यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर डीएसपीमा बढुवाका लागि सिफारिस  गरिएको छ ।

सि.सं. ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो चरणमा डीएसपी भएका र केही दाेस्राे चरणमा डीएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए ।

गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपीदेखि सहायक हवलदारसम्मको बढुवाका लागि सूचना प्रकाशित गरेको थियो । जसअनुसार करिब १ महिनाको बीचमा एसएसपी १२ , एसपी ५६ , डीएसपी ८४ , इन्सपेक्टर ७३ , वरिष्ठ सइ ५० , सइ १ सय ४३ , असइ ८२, वरिष्ठ हवल्दार १ सय १८, हवल्दार १ हजार ९ सय २५ र सहायक हवल्दारमा ३ हजार ८ सय ७० गररी कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर