रक्षामन्त्री खड्का र लेवनानका अवैतनिक राजदूतबीच भेटवार्ता

नेपाली शान्ति सैनिकको प्रशंसा

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग लेवनानका अवैतनिक वाणिज्यदूत एल्चेइख मोहमेदविसाम गोउजायलले शिष्टाचार भेट गरेका छन्।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै असल सम्बन्ध रहेको बताए।

शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेवनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिकहरू तैनाथ भई लेवनानको शान्ति प्रक्रियामा योगदान पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे। उनले शान्ति सेनाको योगदानले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गरे।

उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रुपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरूवात गरेकाले नेपाली सेनाको इतिहासमा कोसेढुंगा सावित भएको बताए।

सन् १९७८ देखि युनिफिल मिशनअन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिकहरू तैनाथ भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्। साथै हाल ८७५ जना शान्ति सैनिकहरू लेवनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उनको भनाइ छ।

रक्षामन्त्री खड्काले नेपाल र लेवनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवं धनी रहेको र पर्यटन उद्योगलगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै संम्भावनाहरू भएकाले पर्यटन एवं अन्य क्षेत्रमा लेवनानको तर्फबाट लगानीका लागि आह्वानसमेत गरेको उनको सचिवालयले जनाएको ।

सो अवसरमा अवैतनिक वाणिज्यदूत एल्चेइख मोहमेदविसाम गोउजायलले लेवनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेवनानी जनताको सकारात्मक भावना रहेको कुरा बताए।

उनले दुई देशबीच पर्यटन, उद्योग, जलस्रोतलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताए।

साथै दुई देशबीच श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीयलगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने कार्य लेवनानको तर्फबाट अघि बढाएकाले नेपालको तर्फबाट ती विषयहरू शीघ्र टुंगोमा पुर्‍याउन भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कासँग अनुरोध गरेका थिए।

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै नेपाली सेनाका अधिकृतहरूसमेतको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर