ग्रीसमा पाकिस्तानीसँगको मिलेमतोमा नेपालीले नै गरे नेपालीको अपहरण, ४ जना पक्राउ

२१ लाख ७५ हजार रूपैयाँ फिरौती लिएको आरोप

युरोपेली मुलुक ग्रीसमा नेपाली युवायुवतीलाई अपहरण गरी बन्धक बनाएर नेपालमा उनीहरूका परिवारसँग फिरौती रकम लिएको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन्।

अपहरणकर्ता पाकिस्तानी रहेको खुलेको छ भने उनीसँगको मिलेमतोमा फिरौती माग्ने र लिने कार्यमा संलग्न ४ जना नेपाली पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई फरकफरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार वैदेशिक रोजगारीमा दुवईमा रहेका नेपालीले युवायुवतीको परिवारसँग फिरौती माग गरी नेपालमा रहेका उनीहरूको समूहका सदस्यमार्फत फिरौती लिएको देखिएको छ।

पक्राउ पर्नेहरूमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ का शिवराज कुँवर, काठमाडौंको तारकेश्वर नगरपालिका-५, कुमालटारका रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका-१ का प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका-१, शंखपोखरीका दिलबहादुर थापा छन्।

पक्राउ परेकामध्ये शिवराज कुँवर पीडितका आफन्तसँग फिरौती लिएका र रामेश्वर अर्याल फिरौतीको रकम लिन शिवराजसँग सम्पर्क गरेका व्यक्ति हुन्।

यस्तै प्रकाश बेलबासे दुवईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाएका तथा रामेश्वर अर्याललाई रकम दिनु भनेका व्यक्ति हुन्। दिलबहादुर थापा भने दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनी सम्पर्क नम्बर दिने व्यक्ति हुन्।

घटना विवरणअनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका-२ की सावित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका-३ का कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१ का राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि उनीहरू लुकीछिपी ग्रीस प्रवेश गरे।

सोही क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी र उनका सहयोगीसमेतले उनीहरूलाई अपहरण गरे।

अपहरणपछि डोरीले बाँधेर शारीरिक तथा मानसिक यातनासहित ज्यान मार्ने धम्की दिई पीडितहरूका नेपालमा रहेका परिवारसँग १५ हजार युरो फिरौती माग गरियो।

त्यसपछि पीडितका आफन्त सीआईबीमा पुगे। आफन्तबाट घटनाको जानकारीपछि सीआईबीले अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धानका क्रममा उनीहरूले ग्रीस तथा दुवईबाट ह्वाट्सएपमार्फत सम्पर्क गरी पीडितका परिवारसँग २१ लाख ७५ हजार रूपैयाँ फिरौती लिएको खुलेको छ।

प्रहरीले फिरौतीको रकमसहित शिवराजलाई काठमाडौंको गौरीघाटबाट र रामेश्वरलाई तारकेश्वरबाट पक्राउ गरेको हो।

यस्तै वैदेशिक रोजगारीमाा दुवईमा रहेका प्रकाश बेलबासे र दिलबहादुर थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

अपहरणमा परेकाहरूको सकुशल उद्धार गरिएको तथा पक्राउ परेकाहरूविरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर