तस्कर र कमिसनखोरहरू आतंकित बनेका छन् : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन्।

माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा उनले सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरेका हुन्।

कमिसनखोर र उनीहरूको संरक्षणमा लागेकाहरूको निदहराम भएको उनको भनाइ छ।

उनले सरकारविरूद्ध विभिन्न खाले आक्रमण भइहरेको जिकिर गरे।

‘सरकारलाई एउटापछि अर्को अक्रमण गर्ने र यसको व्यवाहारिक नेतृत्वलाई असफल बनाउन र त्यसमाथि आक्रमण गर्न खनिएका छन्। आफ्नो अभियान सफल पार्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘त्यसमा हामी हल्लिनेवाला छैनौं। किनभने हाम्रो पार्टीको औचित्य नै त्यतिबेला पूरा हुन्छ, जब यो देशलाई विकसित र समृद्ध बनाउँछौं।’

उनले सरकार नेपाली जनतालाई नयाँ जीवन दिने बाटोमा लागेको दाबी गरे। त्यसका लागि सुशासनको सवालमा कुनै सम्झौता नगर्ने उनको अठोट छ।

‘शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, बाटो सबैको आवश्यकताहरू पूरा गरेर जनतालाई नयाँ जीवन दिन्छौं। जतिसुकै आक्रमण गर्ने काम होस्, हामी जनताको समर्थनमा लाग्नेछौं,’ उनले भने ‘प्रधानमन्त्रीको नेतृत्वको सरकार र मेरो गृहमन्त्रीको पदको निरन्तरता र भ्रष्टाचारी, कमिसनखोरी, तस्करी, कालाबजारी र ठगीको निरन्तरता साथसाथै जान सक्दैन। हाम्रो सरकारलाई निरन्तरता दिने हो भने हामीले यो अभियान अगाडि बढाउनैपर्छ, सुशासन स्थापित गर्नपर्छ, यसमा सम्झौता हुनेछैन।’

उनले अहिले आफूहरू पाँच कार्यभार पूरा गर्न कटिबद्ध भएर लागेको बताए।

‘हाम्रो अगाडि पाँचवटा कार्यभारहरू छन्। एउटा, नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगालिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नु छ। देशलाई बचाउनु छ। राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु छ,’ उनले भने, ‘र, त्यसको लागि हाम्रो रािष्ट्रय एकतालाई बलियो बनाउनु छ। दोस्रो कुरा, हामीले यति धेरै संघर्ष गरेर प्राप्त गरेको राजनीतिक परिवर्तनलाई रक्षा गर्नु छ। राजनीतिक परिवर्तन गरेर लोकतन्त्रको स्थापना गरेर जनताको पक्षमा केही गरेको अनुुभूति गर्न पाएन भने यो परिवर्तनको औचित्य हुँदैन।’

त्यस्तै उनले लोकतन्त्रलाई माध्यम बनाएर सामाजिक-आर्थिक रूपान्तरण गर्नु र देशलाई विकासको बाटोमा लानु अर्को कार्यभर भएको बताए।

‘आर्थिक क्रान्ति, सामाजिक रूपान्तरण गर्ने हाम्रो मुख्य काम हो। शान्ति प्रक्रियाको काम पूरा गर्नुपर्ने छ। संक्रमणकालीन न्यायको काम पूरा गर्ने हो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्न बाँकी छ। त्यो भए मात्रै शान्ति प्रक्रिया पूरा हुन्छ। त्यसको लागि हामी प्रतिबद्ध छौं,’ उनले भने। -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *