नेपाल सार्वभौमिकता, एकता र अखण्डता कायम राख्न सक्षम : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आफ्नो सार्वभौमिकता, एकता र अखण्डता कायम राख्न सक्षम रहेकाले कोही आत्तिनु नपर्ने बताएका छन्।

नेपालको परराष्ट्र नीतिको चुनौती र अवसर विषयक कार्यक्रममा मन्त्री साउदले नेपाल प्रतिकूल परिस्थितिमा पनि सार्वभौमिकता, एकता र अखण्डता कायम राख्न सक्षम रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्।

यस्तै उनले राजनीतिक दलहरूका बीचमा परराष्ट्र नीतिलाई लिएर विदेशीको समर्थन लिने प्रवृत्ति राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुने भन्दै यसप्रति ध्यान दिनु आवश्यक भएको बताए।

उनले भने, ‘हाम्रो राष्ट्र धेरै लामो समयदेखि सुरक्षित छ। हाम्रो परराष्ट्र नीति इतिहासको बुझाइमा आधारित छ। हाम्रो देश प्रतिकूल परिस्थितिमा पनि सार्वभौमिकता, एकता, अखण्डता कायम राख्न नेपाल सक्षम छ। त्यसकारण धेरै आत्तिनुपर्ने छैन। राजनीतिक दलहरूको बीचमा परराष्ट्र नीतिलाई लिएर विदेशीको समर्थन लिने प्रवृत्ति हाम्रो राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुन्छ।’

मन्त्री साउदले घरभित्रको राजनीतिक दलहरूको झगडाका लागि पनि विदेशीहरुको भूमिका खोज्ने प्रवृत्तिले राष्ट्रको स्वतन्त्रता र स्वाभिमान जस्ता कुराहरू प्रभावित हुने बताए। यसकारण पनि राजनीतिक दलहरूबीच छलफल गरेर आफ्ना सीमाहरू निर्धारण गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘आफ्नो घरभित्रको राजनीतिक दलहरूको झगडाका लागि पनि विदेशीहरूको भूमिका खोज्ने प्रवृत्ति छ। जुट्न नसक्ने वा अरूले फुटाउने प्रवृत्ति राष्ट्रिय राजनीतिमा हाबी भयो भने राष्ट्रको स्वतन्त्रता स्वाभिमान जस्ता कुराहरू प्रभावित हुन्छन्। हामीले सबैभन्दा पहिला राजनीतिक तहमै राजनीतिक दलहरूको बीचमा छलफल र संवाद गरेर आफ्ना सीमाहरू निर्धारण गर्नुपर्ने, बनाउनुपर्ने आवश्यकता छ।’

मन्त्री साउदले पार्टीगत रूपमा पनि विभिन्न देशहरूसँग सम्बन्धहरू कायम भइरहेको चर्चा गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर