प्रहरीले सुन तस्करी प्रकरणमा माग्यो भारत र हङकङसँग सहयोग

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोल मार्फत भारत र हङकङसँग सहयोग मागेको छ ।

इन्टरपोलको नेपाल एनसीबीले भारत र हङकङ एनसीबीसँग सहयोगका लागि पत्राचार गरेको हो । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो प्रमुख सम्बन्धित देशका प्रहरी प्रमुख रहने व्यवस्था छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए ।

गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सीआइबीले गरिरहेको छ । सीआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ । सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने चिनियाँहरुले नेपालमा सुन तस्करीको सञ्जाल फैलाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर