रक्षामन्त्री खड्का र भारतको नेशनल डिफेन्स कलेजका शिक्षार्थीबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेशनल डिफेन्स कलेज (एनडीसी) का वरिष्ठ निर्देशक एयर भाइस मार्शल मनिषकुमार गुप्ता नेतृत्वको शिक्षार्थी सम्मिलित भ्रमणदलका सदस्यहरूले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज रक्षा मन्त्रालयमा भएको भेटघाटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारहरूको रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे।

संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको बताए।

उनले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरूमा यससम्बन्धी संस्थाहरूको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताए।

प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय एयर भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिए। नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाइ छ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवं नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो।

भारतीय नेशनल डिफेन्स कलेजका फ्याकल्टी तथा उक्त कलेजमा सञ्चालन भइरहेको ६३ औं नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरेबिया, बेलायत, ओमान र भारत) सम्मिलित २७ सदस्यीय भ्रमणदल एयर भाइस मार्शल गुप्ताको नेतृत्वमा पाँचदिने अध्ययन भ्रमणको क्रममा आइतवार नेपाल आएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर