सुनकाण्डमा मुछिएर नोकरीबाट हटाइएका बुटवलका डीएसपी केसीविरूद्ध भ्रष्टाचार मुद्दा

गृह मन्त्रालयले सुनकाण्डमा मुछिएपछि नोकरीबाट हटाएका इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका डीएसपी केसीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनको निवासबाट नगदसहित सुन बरामद भएको सम्बन्धमा छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्र/प्रतिवेदन/उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा उनले गत वर्ष मंसिर २५ गते बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएको देखिएको छ।

यसरी सुन लिएको बारे १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैंले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस रिसवत लिने/खाने नियतले १५ दिनसम्म आफैंसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुस/रिसवतको मोलमोलाइ गरेको देखिएको अख्तियारको ठहर छ।

उनले यसरी ८ लाख ५० हजार रूपैयाँ नगद र ९ लाख ५० हजार रूपैयाँको चेकसमेत गरी १८ लाख रूपैयाँ घुस/रिसवत लिई लिन लगाई उक्त सुन अन्य व्यक्तिमार्फत फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकाले १८ लाख रूपैयाँ बिगो कायम गरी कैद सजाय र बिगोबमोजिम जरिवाना सजायसमेत मागदाबी लिएर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको निष्कर्ष निकालेको थियो।

उनका सम्बन्धमा छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो।

डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रूपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँ नगदसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो।

विवादमा मुछिएका उनी बुटवलबाट सरूवा भएर कास्की जानुभन्दा एक दिनअघि सुन र नगद रकमसहित पक्राउ परेका थिए। पक्राउलगत्तै उनी निलम्बनमा परेका थिए।

बुटवलका सुन व्यवसायी किसन विकबाट गत वर्ष मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *