आठ वर्षपछि तातोपानी नाकाबाट मानिस आवतजावत

नेपाल-चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरू भएको छ।

आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमतिपत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।

सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरूले भव्य स्वागत गरेका थिए।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए।

तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए।

वि. सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल-चीनबीचको सो नाका पूर्ण रूपमा बन्द थियो।

नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो।

भूकम्पबाट सिर्जित कठिनाइ पन्छाएर सीमित रूपमा मात्रै सञ्चालन भएको नाका वि. सं. २०७६ फागुनमा विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो।

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात-निर्यात खुलाइएको थियो।

आयात-निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाएका थिए।

साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए।

त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *