सशस्त्र प्रहरीका १२ एसएसपीले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी बल, नेपालमा हालै उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा १२ जनाले दर्ज्यानी चिह्न लगाएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमाा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को भदौ ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना एसपीहरू एसएसपीमा बढुवा भएका हुन्।

कार्यक्रममा महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणामस्वरूप पदोन्नति भएको बताए।

उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

संगठन स्थापनापश्चात् संगठनको साख वृद्धिमा टेवा पुर्‍याउने अग्रजहरूको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकहरूको दायित्व रहेको उनले उल्लेख गरे।

महानिरीक्षक अर्यालले भ्रष्टाचारविरूद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेसाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू, सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *