वैदेशिक सहयोग मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिन्छौं : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक सहयोग लिँदा नेपालको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।
उनले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको पनि बताए। उनले केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे।
‘अर्थतन्त्रमा केही समस्या आएका छन्। विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ,’ अर्थमन्त्री डा. महतले भने, ‘राज्य संयन्त्रबाट जहाँ कमीकमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तर रूपमा लागिपरेका छौं। केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस भइरहेको छ।’
पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए। राजस्व संकलन अपेक्षाअनुसार नबढे पनि तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा. महतको भनाइ छ।
राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए। अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’ को आवश्यकता भएको उनले बताए।
‘राज्य संयन्त्रका सबै अंगले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर नजानेर गर्न नसक्दा पनि समस्या आएका छन्,’ अर्थमन्त्री डा. महतले भने, ‘निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्यांकन गर्न आवश्यक छ।’
निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्त्वबारे स्पष्ट पारे। यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
छाता संगठनले एउटा मूल्य र मान्यतामा आधारित रहेर काम गर्न आत्म नियमनकर्ताको भूमिका निर्वाह गर्न मन्त्री डा. महतको सुझाव छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझावलाई कार्यान्वगन गर्न सरकारसँग माग गरे। उनले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रूपमा पुर्‍याउनसमेत अर्थमन्त्री डा. महतसमक्ष सुझाव प्रस्तुत गरे।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढन् आह्वान गरे।
कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नवीन प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग पत्रकारिताका लागि चुनौती बन्ने बताए। उनले इमान्दारितापूर्वक व्यावसायिक पत्रकारिता गर्न सुझाव दिँदै सेजनको नेतृत्व चयन निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गर्न सुझाव दिए।
यस्तै सेजनका पूर्वअध्यक्षहरू गोकर्णराज अवस्थी, भीम गौतम र पुष्पराज आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीलगायतले सेजन र समग्र पत्रकारिताको शुद्धीकरणबारे आ-आफ्नो धारणा राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर