अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको परिवारको आरोप

सैनिक हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन् ।

दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपतकालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको छोरा किम एरिसले बताएका हुन् । बिरामी आमालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए ।

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खान नसक्ने अवस्थामा पुगेको उनले बीबीसी वर्मेली सेवालाई बताएका छन् । सुची न्यून रक्तचापबाट पनि पीडित छिन् । कारागार स्रोतले पनि नेत्री सुची भोजन गर्न असमर्थ भएकी बताएको छ ।

यद्यपि, एक सैन्य प्रवक्ताले उनको स्वास्थ्यमा समस्या नभएको तथा सैनिक एवं गैरसैनिक चिकित्सकहरूबाट नियमित रूपमा स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको दाबी गरेका छन् । उनको दाँतको दुखाई कम गर्ने उद्देश्यले नरम खाना र औषधियुक्त जेली खुवाइएको बताइएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मार गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन् । यो हिंसाका घटना बढिरहेका छन् । गत जुलाईमा सुचीलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर नोबेल पुरस्कारबाट सम्मानित सुचीलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन ।

बेलायतमा बस्दै आएका एरिसले आफ्नी आमाले वान्ता गरिरहेकी र मुर्छा पर्ने गरेको जनाउँदै उपयुक्त चिकित्सा सेवाबाट बिरामीलाई वञ्चित गर्नु क्रूरताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । उनले आमाको बिग्रदो स्वास्थ्यले जीवन नै जोखिममा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर