लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशु मरे

कृषि तथा पशुपक्षीमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे।

हालसम्म उपचारपश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।

रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताए। यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनको भनाइ छ।

उनले भने, ‘माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ।’

सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए।

सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकीकरण किन हुन सकेको छैन भनी प्रश्न गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर