सुवास नेम्वाङको निधनमा संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्व. नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । आजको बैठकमा स्व नेम्वाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।

यस्तै राष्ट्रियसभा बैठक पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ ।

बिहीबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले शोक प्रस्ताव पारित भएको बताउँदै असोज १२ गते दिउँसो १ बजेर १ मिनेट बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठकमा नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि. सं २००९ फागुन २८ गते जन्मेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।

नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।

उनी २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसदको सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष थिए ।

यसैगरी २०५६ सालमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका स्वर्गीय नेम्वाङ कानन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनमन्त्रीसमेत भएका थिए । संविधानसभामार्फत नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर