स्वास्थ्यमन्त्री बस्नेतदेखि मेयर बालेन शाहसम्मको अभिव्यक्तिप्रति आयोगको आपत्ति

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्मको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।

आयोगको विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौँका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनेको, ताप्लेजुङमा कोशी प्रदेशसभा सदस्य खगेन सिं हांगामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको पाइएको छ। नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरूको मर्यादामा आँच आउने र शान्तिसुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन।’

त्यस्तै आयोगले नेपाली नेपाली कांगग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमणजस्ता घटनाहरूले शान्तिसुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने सम्भावना भएकाले छानबिन गरी कारबाहीका लागि माग गरेको छ।

विज्ञप्तिमा आयोगले भनेको छ, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा सांघातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै हेटौंडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएको जस्ता घटनाहरू आयोगको जानकारीमा आएका छन्। यस प्रकारका आपराधिक र अराजक गतिविधिले अराजकतालाई प्रश्रय दिने र शान्तिसुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने सम्भावना रहन्छ।’

कानूनको शासन र मानव अधिकारको प्रत्याभूतिका लागि यस प्रकारका गतिविधि र घटनामा संलग्न आरोपितलाई कानूनबमोजिम कारबाही गर्न तथा शान्तिसुरक्षाको प्रत्याभूति गर्न, गराउन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *