रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

रोजागरीका लागि विदेश पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक पुरूष र एक महिला छन्।

वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलबाट मुक्तिराज बोम्जनलाई पक्राउ गरेको छ।

पर्साको निर्मलबस्ती वडा नं. २ स्थायी घर भएका उनले प्रकाश कठायतसहित सात जनालाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै २० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

यस्तै वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका घर भई हाल ललितपुरको मंगलबजार बस्ने ३२ वर्षीया चेतना श्रेष्ठ छिन्।

साइप्रस जान १५ लाख ६५ हजार रूपैयाँ लाग्छ, त्यहाँ पुगेपछि कृषि फार्ममा काम लगाइदिन्छु, मासिक एक लाख ५० हजार रूपैयाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारेर श्रेष्ठले ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितबाट पटक-पटक गरी ७ लाख ५० हजार रूपैयाँ रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागबाट श्रेष्ठलाई पक्राउ गरिदिन पत्राचार भएका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोली उनलाई मंगलबजारबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *