यसपटकको राष्ट्रसंघ भ्रमण विशेष छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४७ देशको नेताको हैसियतले विकास र समृद्धिको बारेमा अपिल गर्न संयुक्त राष्ट्रसंघको भ्रमण विशेष रहेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले योपटक राष्ट्रसंघको भ्रमण शान्तिप्रक्रियाको काम पूरा गर्न, जलवायु परिवर्तनका विषयमा विश्व समुदायको ध्यानाकर्षण गर्न र विकास, समृद्धिको अपिल गर्न महत्त्वपूर्ण भएको बताए।

उनले भने, ‘शान्तिप्रक्रियाको काम पूरा गर्नको लागि अन्तर्राष्ट्रिय समुदायको हामीलाई सहयोग चाहियो र नेपाल एउटा सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नु छ। दोस्रो, मौसम परिवर्तनको सबैभन्दा बढी प्रभाव हामीजस्तो देशलाई परेको छ, यसबारे विश्व समुदायले ध्यान नदिने हो भने मानव जातिका निम्ति दुर्भाग्यपूर्ण हुन्छ भनेर अपिल गर्नु छ। तेस्रो, ४७ देशको नेताको हैसियतले तिनीहरूको प्रतिनिधित्व गरेर विकास, समृद्धिको बारेमा अपिल गर्नु छ। यही कारणले योपटक राष्ट्रसंघको भ्रमण विशेष छ।’

यस्तै उनले चीन भ्रमणले पनि नेपालको राष्ट्रिय हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए।

उनले भने, ‘चीनसँग पनि भौतिक पूर्वाधारको विषय, ट्रान्समिसन लाइन, नयाँ नाकाको कुरा, कृषिमा आधारित उद्योग, व्यापार घाटा कम गर्न देशमा उत्पादित वस्तु निर्यात गर्ने विषयमा भएको हुनाले यसले नेपालको राष्ट्र हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बोकेर जाँदैछु।’

उनले सामाजिक न्याय, सुशासन र समृद्धिमा नयाँ फड्को मार्न आवश्यक भएको भन्दै त्यसका लागि जनता, राष्ट्र, समाजवाद र विचारको पक्षमा नयाँ काम गर्न लागेको बताए।

उनले यथार्थमा पोष्टबहादुर बोगटीलगायत हजारौं सहिदहरूका सपना पूरा गर्न जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गरेको भन्दै अभियानलाई सफल पारेर पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर