प्रधानमन्त्री विदेशीको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेका छन्ः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।

पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाइ थियो । अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमानदार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

‘नेपालको निर्णायकत्व नेपालीको हातमा हुनुपर्छ भनेर हामीले गत निर्वाचनमा मूल नारा बनाएका थियौं । यो नारा किन अगाडि सारेका थियौं भन्दाखेरी नेपालको सरकार कसेको हुनु पर्छ, कसको नेतृत्वमा हुनुपर्छ ? चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ ? भन्ने कुरा समेत विदेशीहरुले तय गर्न थाले । अहिले त्यही कुरा भइराखेको छ । विदेशीहरुको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाई भोलि बिहान उठ्दाखेरी प्रधानमन्त्री आफैँले समीकरण परिवर्तन गरिसकेको हुन्छ । उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ । सत्ता मात्रै छ होइन कि सत्ता केका लागि छ ? भन्दाखेरी एउटा त मिलिजुली बाँकि रहेको देशमा लुटने र अस्ती लुटेको कारबाहीबाट जोगिने । यसबाट जोगिनका लागि उनीहरु जोडिने । यो कहिलेसम्म देशले धान्नसक्छ ? यो अवस्था हामीले कहिलेसम्म हेरेर बस्नसक्छौं ? यो अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने इमान्दार राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो,’ लिङदेनले भने ।

अध्यक्ष लिङदेनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर