प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् ।

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट भएको हो ।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन ३० भदौंको साँझ न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्नेछन् ।

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्ने छन्। राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी भएका छन् ।

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गरे। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेटघाट गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर