देशको अवस्था सिटामोल खाएर ठीक हुनेखाले छैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठीक हुने खालको नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा (एमाले) विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।

जरामा रोग लागेको छ भने माथि पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा सामान्य हिसाबले हुनेवाला छैन, सिटामोल खाएर यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हट्ने अवस्था छैन, यसको खास उपचार नगर्ने हो भने हुँदैन । जरामा रोग लागेको छ, माथि पातमा औषधी राखेर केही हुँदैन । अहिलेको अवस्था त्यहीँनिर पुगेको छ ।’

यति गम्भीर कुराहरूप्रति सरकार बेखबर भएर ध्वस्त भएको अर्थतन्त्र सुधारको अवस्थामा छ भनेर जनतालाई झुटो आशा देखाइरहेको आरोप ओलीले लगाए ।

उनले भने, ‘गम्भीर कुराहरूप्रति सरकार बेखबर हुने र हाम्रो अर्थतन्त्रमा सुधारका लक्षणहरू देखिएका छन्, भनेर ध्वस्त भइरहेको छ, जनतालाई झुटो आशा देखाइरहेका छन् । यस्ते अवस्था हुनुहुँदैन । चलायमान नहुने स्थानमा गएर पैसा थुप्रिएको छ भने, त्यसलाई चलायमान स्थानमा लगेर पनि चलाउनुपर्ने हुन्छ । ढिलो गर्ने धेरै पर्खिनुपर्ने समय पनि छैन ।’

उनले उद्योगहरू बन्द भइरहेको गम्भीर अवस्थामा सरकार गम्भीर नभएको भन्दै यस्तो तरिकाले देश अगाडि नबढ्ने बताए ।

उनले भने, ‘हामी मिशन ८४ मा लागेका छौं तर त्यो समयसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन । नयाँ नेपालतर्फ जानुपर्ने, अर्थतन्त्र बलियो हुनुपर्ने, उत्पादन बढ्नुपर्ने अवस्थामा त्यस्तो केही भएको छैन । उद्योगहरू बन्द भइरहेका छन्, यो सामान्य कुरा होइन, उद्योगपतिलाई नाफा हुन्छ कि नोक्सान हुन्छ भन्ने कुरा होइन, देशलाई नाफा भएको छ कि नोक्सान त्यो हेर्नुपर्छ यो केही उद्यमीको विषय होइन, देशको विषय हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ । तर सरकार गम्भीर हुने स्थितिमा देखिँदैन, यस्तै अवस्था हो भने देश अगाडि बढ्न सक्दैन ।’

उनले आजको समयमा नेपालजस्तो देश ओरालो झर्दै गएको भन्दै यस्तो अवस्थाबाट देशलाई कसरी अगाडि बढाउने र परिवर्तन ल्याउने कुरामा ध्यान दिनुपर्ने बताए ।

सरकारले ल्याएको बजेटलाई पनि उद्यमी व्यवसायीहरूको संस्थाबाट जस्तो स्वागत भयो त्यो देखेर आफू छक्क परेको भन्दै उद्यमी व्यवसायीहरू राजनीतिमा बढी लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर