एनआईसी एशिया बैंकका शाखा प्रबन्धकविरूद्ध ठगीमा अनुसन्धान गर्दै प्रहरी

रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ।

बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा दिएकाे निवेदन अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा आएको प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

धितोमा ऋण लिएका ऋणीको रकम आफैंले निकालेर अपचलन गरेको आरोपमा शाखा प्रबन्धक गुप्तालगायत बैंकका कर्मचारीविरूद्ध ठगी गरेको भन्दै प्रहरीमा निवेदन परेको हो।

गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा रकम निकालेको आरोप छ।

एसपी श्रेष्ठका अनुसार यसबारे अनुसन्धान सुरू गरिएको छ। ‘ठाडो निवेदन परेको छ। अनुसन्धान हुँदैछ। प्रारम्भिक अनुसन्धानमा ऋणी र बैंकबीचको कारोबार नमिलेको जस्तो देखिन्छ,’ एसपी श्रेष्ठले पर्दाफाससँग भने।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दामोदर केसीले एक जना पीडितको निवेदन आएको र त्यसमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए।

‘निवेदन आएको छ, दर्ता हुन बाँकी छ,’ उनले भने।

उनका अनुसार यस सम्बन्धमा अनुसन्धानका लागि शाखा प्रबन्धक गुप्तालाई प्रहरी कार्यालय बोलाएर सोधपुछ गरिएको छ।

‘हिजो उहाँ (शाखा प्रबन्धक गुप्ता) लाई बोलाएर छलफल भयो। अन्य अनुसन्धान हुँदैछ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *