हिन्द-प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनमा भाग लिएर स्वदेश फर्किए प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा भएको तेह्रौं संस्करणको हिन्द-प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन (आईपीएसीसी) मा सहभागी भएर प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्किएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे। सो अवसरमा रक्षा मन्त्रालयका पदाधिकारी, सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो। सम्मेलनका लागि उनी असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

असोज ८ देखि १० गतेसम्म ‘शान्तिका लागि सँगै : हिन्द-प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थिरता’ भन्ने नाराका साथ आयोजित उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता रहेको थियो।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापति शर्माले अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) सँग बेग्लाबेग्लै भेटघाट गरेका थिए।

प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेज (एनडीसी) को पनि भ्रमण गरे। त्यस अवसरमा उनले उक्त कलेजमा सञ्चालन भइरहेको एनडीसी–६३ मा सहभागी शिक्षार्थी र प्रशिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीति सुदृढीकरणमा नेपाली सेनाको योगदान विषयमा प्रवचन दिएका थिए।

हाल उक्त कलेजमा नेपालका तीन जना महासेनानीहरू तालिमरत छन् भने प्रधानसेनापति शर्माले समेत विगतमा सोही कलेजबाट एनडीसी तालिम लिएका थिए।

प्रधानसेनापतिसँगै हिन्द-प्रशान्त क्षेत्रका सेनाको ४७ औं व्यवस्थापन सेमिनार (आईपीएएमस) तथा नवौं वरिष्ठ सूचीकृत नेतृत्व फोरम (एसईएलएफ) मा सहभागी हुन गएका रथी, अधिकृत, सुवेदार, मेजर पनि स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायतका पदाधिकारीहरूसँगको अन्तर्क्रियाबाट मानवीय सुरक्षालगायतका साझा चासोका विषयहरूमा अनुभवहरूको आदानप्रदान गर्ने अवसर प्राप्त भएको नेपाली सेनाले जनाएको छ। साथै सम्बद्ध देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास पनि सेनाले लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर