पर्वत जीप दुर्घटनाः रुपन्देहीका गोपाल बस्यालको शव फेला, खोजीकार्य जारी

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृत फेला परेका पुरुष व्यक्ति जिल्ला रुपन्देही तिलोत्तमा गापा ९ बस्ने बर्ष ३४ को गोपाल बस्याल रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट इन्स्पेक्टरको कमाण्डमा सुरक्षा फौज बेपत्ता २ जनाको खोजिकार्यको लागि परिचालन भएको बलले जनाएको छ ।

जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो । खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक वसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।

घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी टोलीले उद्धार कार्य जारी राखेका छन् । शनिवार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *