एमाले गण्डकीकाे अधिवेशन सोमबारदेखि पोखरामा, काे-काे छन् नेतृत्वका दाबेदार ?

नेकपा (एमाले) को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरू हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए ।

अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उनकाे भनाइ छ । ‘प्रतिनिधि छनोटलगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ,’ उनले भने, ‘सोमबार अधिवेशनको उद्घाटन समारोह र मङ्गलबार बन्दसत्र हुन्छ ।’

विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकाङ्क्षीको नाम चर्चामा आउन थालेको छ । अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

प्रदेश अध्यक्षको आकाङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेत पनि प्रदेश अधिवेशनको प्रतिनिधिमा चुनिएका छन् ।

केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र मङ्गलबार पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दबाडीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर