आज १३ अर्ब रूपैयाँकाे विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १० करोड रूपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ ।

विसं २०८८ असोज १५ गते सावाँ भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । बोलकबोलमा घटीमा ५० हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ ।

यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर