चोरी गर्ने उद्देश्यले कान्तिदेवीको हत्या, देवर र जेठाजूसहित तीन जना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका-५, मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको चोरी गर्ने उद्देश्यले आफन्तबाटै हत्या भएको खुलेको छ।

उनको हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उनका देवर र जेठाजूसहित तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

गत असोज १ गते राति पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या भएको थियो।

हत्या अभियोगमा पक्राउ परेका मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजू पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिका राउत विनलाई मंगलबार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले उनीहरू घरमा सुरूङ बनाएर घरभित्र प्रवेश गरेका थिए। कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले उनीहरूले सिरानीले मुख थुनेर घाँटी रेटी, रड प्रहार गरी हत्या गरेको खुलेको हो।

प्रारम्भिक अनुसन्धानमा मृतकका देवर असोज ७ मा पक्राउ परेका थिए। उनकै बयानका आधारमा थप दुई जनाको पनि संलग्नता खुलेपछि उनीहरूलाई प्रहरीले असोज १४ गते पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ परेकाहरूको पोलिग्राफ परीक्षणसमेत गरिसकिएको जनाएको छ। उनीहरूलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर