रोल्पाको गंगादेव गाउँपालिकाकी पूर्वउपाध्यक्ष घर्तीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

रोल्पाको गंगादेव गाउँपालिकाकी पूर्वउपाध्यक्ष रीता घर्तीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार घर्तीसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

पूर्वउपाध्यक्ष घर्तीसहितले गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा कामभन्दा बढी भुक्तानी लिनेदिने गरेर ४ लाख ६६ हजार ४८८ रूपैयाँ हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार आव २०७६/०७७ मा सञ्चालित योजनामा वास्तविकभन्दा बढी काम भएको गलत प्रतिवेदन, गलत नापी किताब, झुटा बिल भरपाई तयार गरी उपभोक्ता समितिलाई भुक्तानी लिनेदिने कार्य गरेको देखिएको छ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव, योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगीविरूद्ध ४ लाख ६६ हजार ४८८ रूपैयाँ बिगो मागदाबी लिएर मुद्दा दर्ता गरेको छ।

यस्तै पूर्वउपाध्यक्ष घर्ती, वडा नं. २ का तत्कालीन वडाध्यक्ष भूपाल दमाई, तत्कालीन वडासदस्यद्वय टीका विक र गनबहादुर भण्डारी र वडासचिव कुलबहादुर योगीविरूद्ध कसुरअनुसारको कैद सजाय र जरिवाना मागदाबी गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर