११ किलो सुन तस्करी प्रकरणका ‘नाइके’ चिनियाँ नागरिक पक्राउ

दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक तासी दावा भनिने ६६ वर्षीय आगर लामा रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको स्वयम्भू बस्दै आएका उनलाई बुधबार सोही स्थानबाट पक्राउ गरेको हो।

चीनबाट सुन ल्याउनमा उनको भूमिका देखिएकाले उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकृतले बताए।

यस तस्करीमा उनकै मुख्य भूमिका हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन्।

दोलखाको सिंगटी र लामाबगरबाट तीन पटकमा बरामद गरिएको ११ किलो सुन चीन-नेपाल नाका फलेकबाट तस्करी भएको थियो ।

व्यापारिक प्रयोजनका लागि हालै मात्र खुला गरिएको नेपाल-चीन नाका फलेकबाट चिनियाँ गिरोहले नेपालीको सहयोगमा ११ किलो सुन चीनबाट तस्करी गरेर भित्र्याएका हुन्।

असोज ११ मा पहिलो पटक बिगु गाउँपालिका-३ स्थित सिंगटीबाट ४ किलो सुन बरामद भएको थियो। दोस्रो पटक सिंगटीबाटै ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद भएको थियो।

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा पर्नेमा चीनको सिचुआन घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन्।

यसरी तस्करी गरिएको सुन तस्करहरूले काठमाडौंमा ल्याएर बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकरणको जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धान गरे पनि यसमा संगठित अपराधको कसुरसमेत आकर्षित हुने भएकाले सीआईबीले पनि अनुसन्धान गरिरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर